BREAKING NEWS
Search

५ बर्षमा ५ हजार ३ सय १९ बलात्कार, डरलाग्दो तथ्यांकले समाजलाई झस्कायो (भिडियोसहित)

169

 

काठमाडौं । प्रहरीको बार्षिक तथ्याङ्कमा यौन हिंशा र बलात्कारका घटनाको सुची निकै लामो छ । जुन निकै डरलाग्दो छ र बर्षिने बढिरहेको छ ।

प्रहरी प्रधानकार्यालयको पछिल्लो ५ बर्षको तथ्याङ्कले हरेक बर्ष बलात्कारका घटनाहरुमा बृद्धि भइरहेको देखाउँछ । आर्थिक बर्ष २०७०।७१ मा ९ सय १२ वटा कलात्कारको घटना भएको छ भने ४ सय १४ वटा बलात्कारको प्रयास भएको उजुरी परेको तथ्याङ्क प्रहरीसंग छ ।

आर्थिक बर्ष २०७१/७२ मा ९ सय ८१ बलात्कारका घटना र ५ सय ६२ बलात्कार प्रयास भएको घटना प्रहरीकोमा दर्ता भए । त्यसैगरी २०७२।७३ मा १ हजार ८९ बलात्कार घटना भए भने सोहीबर्ष ४ सय ५१ बलात्कार प्रयास तथा यौन दुब्र्यबहारका घटना भएको तथ्याङ्क छ । त्यसैगरी २०७३/७४ मा १ हजार १ सय ३१ बलात्कारका उजुरी प्रहरीको आएको थियो भने बलात्कार प्रयासको ५ सय ३६ घटनामा उजुरी परेको देखिन्छ । र पछिल्लो आर्थिक बर्षको फागुन मसान्तसम्म ५ सय २९ वटा बलात्कारका घटना प्रहरीको दर्ता भएको प्रहरी प्रवक्ता मनोज न्यौपाने बताउँछन् ।

यो हिसाबमा प्रत्येक बर्ष बलात्कारका घटनामा बृद्धि भइरहेको छ । तर उल्लेखित घटनामा प्रहरी कारबाही भने कमै भएको देखिन्छ । प्रहरी प्रबक्ता मनोज न्यौपानेका अनुसार बलात्कारको घटनाहरु यो भन्दा बढि भएको र प्रत्येक बर्ष प्रहरीसमक्ष आउने क्रम बढ्दै गएको बताउँछन् ।

प्रहरीको तथ्याङ्कमा हालसम्म बलात्कारका घटनामा बालिका र किशोरी नै बढि पिडित छन् । आर्थिक बर्ष २०७०।७१ को ९ सय १२ घटना मध्ये ५ सय ६४ जना बालिका र ३ सय ७० जना महिला बलात्कारको सिकार भएका थिए भने २०७१।७२ मा ६ सय ६६ बालिका र ३ सय १५ महिला बलात्कारमा परेका थिए । त्यसैगरी आर्थिक बर्ष २०७२।७३ मा २ सय १३ जना १० बर्ष भन्दा मुनिका बालिकाहरु बलात्कारको सिकार भएका छन् । त्यस्तै ४ सय ६८ जना १६ देखि १८ बर्ष उमेरसमूहका किशोरीहरु बलात्कारको सिकार भएको देखिन्छ भने ४ सय ८ जना १९ देखि माथि उमेर समुहका महिलाहरु बलात्कारको सिकार भएका छन् ।

पछिल्लो ३ बर्ष यताको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै बालिका तथा किशोरी नै बलात्कारको सिकार बनेका छन् । झन् पछि झनका क्रुर घटनाहरुले नेपाली समाजबाट नैतिकता हराउँदै गएको देखिन्छ । किन वालिका र किशोरीहरु वलात्कारको शिकार भइरहेका छन् भन्ने प्रश्नमा रक्षा नेपालको संस्थापक मेनुका थापा ।

सतहमा देखिएका घटनाहरुमात्र होइनन् दर्जनौँ घटना बाहिर नआइ समाजभित्रै गुपचुप पारिन्छन् । बलात्कारजस्तो जघन्य अपराधको घटना यसरी गुपचुप पारिँदा बलात्कारीको मनोबल बढ्दै गएको देखिन्छ । त्यस्तै बलात्कारजस्तो जघन्य अपराधमा दोषीलाई समेत उन्मुक्ति दिनेगरेका उदाहरणहरु प्रशस्त छन् । जसले नेपाली समाज बलात्कारी जन्माउने उर्वर भूमि त बन्दै छैन भन्ने गभ्भीर आशंका पनि जन्माएको छ ।

वलात्कारबाट यसरी पीडित छन् वालिका र किशोरी

बालिका किशोरी तथा महिलामाथि हुने गरेको यौनजन्य हिंशाका घटनाले पछिल्लो समय देशभित्रको लाजमर्दो स्वरुप प्रस्तुत गरिरहेको छ । अपरिचित भन्दापनि समाज आफन्त र परिवारका सदस्यहरुबाटै यौन हिंशाको सिकार बनिरहेका छन् वालिका र किशोरीहरु ।

१२ दिनसम्म बन्धक बनाई सामूहिक बलात्कार

१२ दिनसम्म बन्धक बनाई १५ वर्षीय किशोरी माथि सामुहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । बा २ ख ४५९५ नम्बरको गाडीमा चढेर कीर्तिपुरस्थित घरबाट बल्खु जान निस्केकी बौद्धिक अपाङ्ग समेत रहेकी किशोरीलाई सोही गाडीका चालक र सहचालकले बलात्कार गरेका हुन् । उनीहरुले किशोरीलाई गोदावरीस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाइ पटक पटक बलात्कार गरे । फागुन २४ गते युवती भागिन् तर पुन उनलाई फन्दामा पारेर २७ फागुनमा युवतीलाई अर्को समूहको जिम्मा लगाई पुन बलात्कार गरियो ।

बा ४ ख ३८५१ नम्बरको गाडीको चालक र सहचालकले उनलाई पनि स्वयम्भूस्थित एक ग्यारेजमा लगेर सामुहिक बलात्कार गरेका हुन् । पटक पटक बलात्कारमा परेकी किशोरी घरबाट निस्केको १२ दिनपछि घर पुगिन् ।

बलात्कारमा संलग्न दुबै गाडीका चालक र सहचालक भोला तामाङ र चन्द्र सापकोटा सहचालक सन्तोष घिमिरे र गड्तौला नामका चालक पनि पक्राउ परेका छन् । उनीहरु उपर काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

फाल्गुन २९ गते गुल्मीमा ६ बर्षीया अवोध बालिका यौन हिंशाको शिकार भइन् । उनलाई ईस्मा गाउँपालिका वडा नम्बर ४ दर्लामचौरका हिमाल दर्जिले बलात्कार गरे । आफ्नै चिनजानको ब्यक्ति हिमालले चाउचाउ खान जाउँ भन्दै प्रलोभनमा पारेर नजिकैको मन्दिरमा लगेर बलात्कार गरेका थिए ।

बलात्कारका कारण बालिकाको यौनाङ्गमा क्षती पुगेपछि उनको लुम्बीनी मेडिकल कलेज पाल्पामा उपचार भएको छ । र अहिले उपचार पछि बालिका घर फिरेकी छिन् । तर यसपछिका दिनहरु उनको लागि यो समाजमा चुनौतीपुर्ण छ ।

केही दिन अगाडी मात्र पर्सा जिल्लाको पटेर्वा सुगौली कि ८ बर्षीया एक बालिका सामुहिक बलात्कारको शिकार भइन् । एक गरिब परिवारमा जन्मिएकी उनलाई फागुन १६ गते गाउँकै सुनीलकुमार सहानीलागायत ३ जनाले बलात्कार गरी बेहोस अवस्थामा फालिदिएका थिए । उनलाई यस्तो अवस्थामा फेला पारेपछि स्थानियहरुले नारायणी उपक्षेत्रिय अस्पताल पु¥याएका थिए । हाल बालिका काठमाडौँ स्थित ग्रिनसिटी हस्पीटलमा उपचाररत छिन् । ग्रिन सिटि अस्पतालको आइसीयुमा राखेर उपचार गर्दै गरेकी ८ बर्षिया बालिकाको गुप्तांगमा १२ टाका लगाइएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अस्पतालमा उपचाररत उनी अगाडी केही लोग्ने मानिस गयो कि झस्किछिन् ।
हालैमात्र सप्तरीको राजविराजमा पनि एक किशोरी बलात्कृत भइन् । सप्तरीको छिन्नमस्ता सखडामा काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबस भित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् । उनलाई गाडीकै चालक र सहचालकले सामुहिक बलात्कार गरेका हुन ।

एक पछि अर्को बलात्कारका दर्दनाक घटनाहरु बाहिर आइरहँदा समाजमा पिडितको पाटो भने झनै कहालीलाग्दो छ । घटनापछिको कानुनी सजायँ एक त अपुग छ, त्यसमाथि नेपाली समाज र पिडित बालिका तथा किशोरीहरुको मानसिक अवस्थामा परेको ठूलो आघातले उनीहरुको भविष्यका दिनहरु समाजका लागि निकै जटिल छ ।

आखिर किन वलात्कार, यौन हिंसामा बढी बालिका तथा किशारीहरु पर्ने गर्दछन् भन्ने प्रश्नमा पीडितहरुलाई आश्रय दिइरहेकी रक्षा नेपालकी संस्थापक मेनुका थापा भन्छिन् ।

यौन हिंशाबाट पिडीत बनेका र नेपाली समाजमा आश्रय नपाएकाहरुको सहारा बनेकी मेनुकासंग अहिले ६५ जना भन्दा बढि बालिका तथा किशोरीहरु छन् । यौनहिंशा पीडित बालिका र किशोरीहरुको मानसिक सुधार र उनीहरुलाई सक्षमतातर्फ अगाडी बढाउन लागि परेकी उनले पिडितहरुको नजिकबाट देखेको पीडा यस्तो छ ।

देखिएका केही प्रतिनिधि घटनाहरु मात्र हुन् । कैयन् घटना समाजमै गुपचुप रहन्छन् । जहाँ समाजको डरका कारण कतिपय घटनाहरु मिलापत्र हुन्छन् भने कति थाहामै आउँदैनन् ।

यौन हिशामा परेका बालिका तथा किशोरीहरुलाई समाजमा जीउन समेत निकै अप्ठ्यारो छ । साथै उनीहरु त्यसबाट सबल बन्न पनि निकै मुस्किल परिरहेको धेरैको भनाई छ ।

यौनजन्य अपराधका घटना समाजमा बारम्बार बढिरहँदा उनीहरुको पीडा बुझिदिने र उनीहरुलाई मानसिक रुपमा सबल बनाउने कार्य न हाम्रो समाजले गर्छ न सरकारी स्तर र अन्य सम्बन्धित निकायबाटै ।

बरु बलात्कारमा परेका त्यस्ता बालिका र किशोरीलाई घृणीत र गलत नजरले हेर्दा उनीहरु बारम्बार पिडित बनिरहेका छन् । जसका कारण समाजबाट लुकेर मानसिक रुपमा विच्छिप्त बन्दै बाँचिरहेका छन् सयौँ पिडित महिला, बालिका तथा किशोरीहरु । जुन देश र समाजका लागि निकै घातक हो ।

भिडियो हेर्नुहोस्

from news24nepaltv




Leave a Reply

Your email address will not be published. Required fields are marked *