काठमाडौं । त्रिभुवन विमानस्थलमा युएस बाङ्ला विमान दुर्घटनामा परेका घाइतेहरुमध्ये ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका चार घाइतेमध्ये दुई जना डिस्चार्ज भएका छन्।
सफल उपचारपछि घर फर्किनेमा काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी रहेका छन्। घर फर्कन लागेका दुवै जनालाई ग्राण्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले खादा लगाइदिएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।
ग्राण्डीमा विमान दुर्घटनामा थप दुई घाइतेको उपचार जारी छ। वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको उपचार जारी रहेको अस्पतालले जनाएको छ।
यो पनि पढ्नुहोस :
सभामुख महरासँग राजदूतको भेटवार्ता !
काठमाडौँ। सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आज कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत चोय तेइ पोकले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।
सभामुख महराले दुवै राजदूतसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसद–संसद्बीच प्रगाढ सम्बन्ध स्थापना गर्ने बारेमा पहल गर्नुपर्ने बताउनुभयो । भेटघाटका क्रममा दुवै देशका राजदूतले सभामुख पदमा निर्वाचित भएकामा महरालाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभामुख महराले कतारमा अहिले चार लाख बढी नेपाली कामदारहरु रहेको भन्दै उनीहरुको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गर्नुभएको थियो । सभामुखसँगको भेटमा कतारका राजदूतले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध विस्तार गरेर लैजाने बताउनुभएको थियो ।
यसैगरी सभामुख महराले उत्तर कोरियाका राजदूतसँगको भेटमा प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताउनुभयो । पछिल्लो समय वार्ताका माध्यमबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा उत्तर कोरियाका राजदूत चोय तेइ पोकले सभामुखमा निर्वाचित हुनुभएकामा बधाई व्यक्त गर्दै उत्तर कोरियाको ‘सुप्रिम एसेम्बली’का अध्यक्षको तर्फबाट प्राप्त भएको बधाई सन्देश सुनाउनुभएको थियो । भेटवार्ताको अवसरमा उत्तर कोरियाली राजदूतले सभामुख महरालाई उत्तर कोरिया भ्रमणका लागि आग्रह गर्नुभएको थियो ।
जवाफमा सभामुख महराले आफू नौ वर्षअघि सञ्चारमन्त्री हुँदा प्योङयाङ पुगेको स्मरण गर्दै फेरि पनि उत्तर कोरियाको भ्रमण गर्न आफू इच्छुक रहेको र अनुकूलता हेरेर सभामुखको कार्यकालमै प्योङयाङ पुग्ने बताउनुभयो ।
(स्रोत : न्युज २४ नेपाल)