BREAKING NEWS
Search

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, राजपाको पनि समर्थन

51

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आईतबार विश्वासको मत लिने भएका छन् ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले आईतबार अपरान्ह ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूचीबारे जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा उनले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम आईतबार अपरान्ह बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था गरिएको पनि स्मरण गराए ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा ओलीलाई माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति विद्या भण्डारीले गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

बैठक अपारान्ह ३ बजे संघीय संसद भवनमा बस्दैछ ।

संविधानको धारा ७६ (४) अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । संविधानअनुसार प्रधानमन्त्रीले नियुक्ती पाएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओलीलाई फागुन ३ गते राष्ट्रति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राजपा लगायतको समर्थन रहेको छ ।

यसैबीच राष्ट्रिय जनता पार्टी ९राजपा०ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।

सदस्य यादवले छ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गरे । सबै तहको निर्वाचन भई मुलुक अगाडि बढेकाले समृद्धिमा सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले संघीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गरे ।-बाह्रखरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *